२०८१ भाद्र २२, शनिबार
काठमाण्डौ – कुनै समय थियो जतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशका शक्तिशाली प्रधानमन्त्री थिए । करिब/करिब दुई तिहाई सांसदको एकलौटी समर्थन प्राप्त थियो, उनलाई । सोही समर्थनका आधारमा प्रधानमन्त्री ओलीका हरेकजसो निर्णय अक्षरस लागू हुन्थ्यो, तात्कालीन सरकार र पार्टीमा पनि । बलियो नेकपा एमाले एक ढिक्का थियो भने नेकपा माओवादीसँगको पार्टी एकीकरणपछि उसको समर्थन पनि ओलीलाई नै प्राप्त थियो ।
त्यसमाथि केही मधेशवादी दलको समर्थन पनि प्राप्त थियो, ओलीलाई । यसका अतिरिक्त देशका सातवटा प्रदेशमध्ये ६ वटामा एमाले – माओवादी गठबन्धनकै एकलौटी सरकार थियो । तात्कालीन प्रदेश नम्बर २ बाहेक सबै प्रदेशमा उनीहरुकै मुख्यमन्त्री विजयी भएका थिए । तर, दूर्भाग्य त्यति शक्तिशाली सरकार र उक्त सरकारका प्रभावशाली प्रधानमन्त्रीको हैंसियत लामो समय कायम रहन सकेन । त्यो पनि ओलीकै दम्भ र अहंकारका कारण । प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आधा÷आधा समय चलाउने भद्र समहतिलाई मान्न तयार भएनन्, ओली । उनी न प्रधानमन्त्रीको पद छाड्न तयार भए न त अर्का अध्यक्ष प्रचण्डलाई पार्टीमै कार्यकारी जिम्मेबारी दिन तयार भए ।
अर्कोतिर, पार्टीभित्रै पनि अनुदार शैलीमा प्रस्तुत भए । हरेकजसो निर्णय एकलौटी रुपमा गर्न अग्रसर हुँदै गए । पार्टीका अन्य बरिष्ठ र जिम्मेबार नेताहरुको धारणा बुझ्न उनले कुनै वास्ता गरेनन् । फलस्वरुप एमाले र माओवादी अलग भए । त्यसमाथि पार्टीमा अध्यक्ष ओलीले देखाएको निरंकुश शैलीको विरोध गर्दै माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले एमाले छाडेर अर्को पार्टी खोले, नेकपा एकिकृत समाजवादी नामको । त्यसपछि सुरु भयो, ओली र उनले नेतृत्व गरेको एमालेको अधोगतिको यात्रा । यसबीचमा प्रधानमन्त्री ओलीले दुईपटक संघीय संसद पनि बिघटन गरे । संसद विघटन गर्ने ओलीको निर्णय उनकै लागि प्रत्युत्पादक सावित भयो । दुबैपटक ओलीको उक्त निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदियो । त्यसैको फलस्वरुप ओलीको सरकारबाट पनि बहिर्गमन भयो ।
अर्कोतिर, नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुन पुग्यो । देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेसले तिनै प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीबीचको गठबन्धनले अहम भूमिका खेल्यो । यो गठबन्धन अहिले हरेक मोर्चामा एकजुट भएर लागिरहेकै छ, चाहे त्यो राष्ट्रियसभाको निर्वाचन होस् वा विभिन्न प्रदेशमा सरकार परिवर्तन गर्न होस् । बदलिँदो परिस्थितिसँगै ओली सत्ताच्युत मात्र भएनन्, सँगसँगै एमालेले ६ वटै प्रदेशबाट आफ्ना मुख्यमन्त्री पनि गुमाउन पुग्यो । अर्कोतिर, राष्ट्रियसभाको निर्वाचनमा समेत एकपछि अर्को गर्दै आफ्ना सांसदहरु गुमाउन पुग्यो । एमालेले गुमाएका राष्ट्रियसभा सदस्य पदमा सत्ता गठबन्धनले एकक्षत्र राज जमाउँदै गयो र त्यो क्रम अहिलेसम्म पनि जारी छ ।
राष्ट्रियसभाको पछिल्लो निर्वाचनमा एमालेको लज्जास्पद हारलाई धेरै राजनीतिक विश्लेषकले अध्यक्ष ओलीको अहंकारको अवसानका रुपमा लिएका छन् । सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादीले सातवटै प्रदेशमा भएको चुनावमा एमालेलाई लगभग ‘क्लिन स्वीप’ गरेको गरिदिएको छ, प्रदेश नम्बर १ को एक सिट वाहेक । एमालेको यो हारलाई निकट भविष्यमा हुन लागेको स्थानीय तह र संसदीय चुनावको परिणामसँग पनि जोडेर हेर्न थालिएको छ । ओलीले म र मेरो सरकार भन्ने गलत रवैयालाई बढावा दिंदा पार्टी त फुट्यो नै, आगामी संसदीय चुनावमा समेत उसले लज्जास्पद हार व्यहोर्ने संकेत देखा परेको छ । ओलीे पार्टी निर्णयमा एकलौटी ढंगले अगाडी बढ्दा त्यसलाई ‘अहंकार’ को सँज्ञा दिएर नेपालले नेकपा एकिकृत समाजवादी पार्टी खोल्न पुगे । यतिबेला त्यही एकिकृत समाजवादी पार्टी एमालेका लागि सबैभन्दा ठूलो टाउको दुखाईको विषय बनेको देखिन्छ ।
सूदूरपश्चिमा गठबन्धनको ‘क्लिन स्विप’
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह (गरिमा) विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुशार, खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभातर्फको कूल ५२ मध्ये ३९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १३ मत पाए । स्थानीय तहतर्फ कूल एक सय ७५ मध्ये मिश्रले एक सय चार मत र भट्टले ६९ मत प्राप्त गरे । स्थानीय तहतर्फ दुई मत बदर भए ।
यसैगरी दलितमा माओवादी केन्द्रका पार्कीले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ एक सय पाँच मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश विकले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६७ मत पाए । दलितमा प्रदेशसभातर्फ एक र स्थानीय तहतर्फ तीन मत बदर भए । महिलामा एकीकृत समाजवादीकी शाहले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ एक सय नौ मत प्राप्त गरिन् । प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरिन् । महिलामा प्रदेशसभातर्फ एक र स्थानीय तहतर्फ दुई मत बदर भए ।
सुदूरपश्चिम प्रदेशसभामा ५२ जना मतदाता रहेकोमा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक/एकजना मतदाता थिए । स्थानीय तहतर्फ एक सय ७५ मतदाता थिए । तीमध्ये नेपाली कांग्रेसका ७४, नेकपा एमालेका ७१, माओवादी केन्द्रका १७ र एकीकृत समाजवादीका १३ जना मतदाता थिए ।
लुम्बिनीमा गठबन्धनको एकलौटी
लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । लुम्बिनीमा सत्ता गठबन्धनबाट खु्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्मा निर्वाचित भए ।
गठबन्धनका तीनैजनाले एमालेका उम्मेदवारलाई हराएका हुन् । प्रदेश निर्वाचन कार्यालयका अनुशार, शर्माले चार हजार तीन सय ४४ मतभार प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदयाल गुप्ताले तीन हजार तीन सय ७८ मतभार पाए ।
यसैगरी महिलातर्फ गैरेले चार हजार तीन सय ७४ र उनकी प्रतिद्वन्द्वी एमालेकी भारती खनालले तीन हजार तीन सय १२ मतभार प्राप्त गरिन् । दलिततर्फ विश्वकर्माले चार हजार तीन सय ५६ मतभार र प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले तीन हजार तीन सय ४८ मतभार प्राप्त गरे ।
निर्वाचनमा प्रदेशसभा सदस्य एक बराबर ४८ र स्थानीय तहतर्फ एक सदस्य बराबर १८ मतभार तोकिएको थियो । राष्ट्रियसभा सदस्यको निर्वाचनमा कुल दुई सय ९६ मतदातामध्ये दुई सय ९४ मत खसेको थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय १३ मत र प्रदेशसभा सदस्यको ८१ मत खसेको थियो ।
कर्णालीमा पनि गठबन्धनकै जित
राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित भएका हुन् ।
निर्वाचित भएका विष्टले तीन हजार ६ मत प्राप्त गरे । गुरुङले दुई हजार नौ सय ७० र बोहोराले तीन हजार ६ मतभार प्राप्त गरेका छन् । यसैगरी पराजित बनेका एमालेका गंगा थापा महतले एक हजार चार सय १६, पदमबहादुर माझीले एक हजार तीन सय ९८ र चूडामणि शर्मा एक हजार चार सय मतभार प्राप्त गरे । बुधबार बिहान नौ बजेदेखि प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगरमा भएको मतदान दिउसो ३ बजे सकिएको थियो । मतदान गर्ने ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र एक सय ५६ पालिका पदाधिकारीमध्ये एक सय ५५ जनाको मत खसेको थियो ।
बागमतिमा गठबन्धनलाई सफलता
बागमति प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनका दुवैजना उम्मेदबार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट महिलामा नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।
तिमल्सिनाले चार हजार आठ सय २४ मतभार प्राप्त गरी जित हासिल गरे । पौडेलले भने चार हजार सात सय ९४ मतभार प्राप्त गरे । प्रतिद्वन्द्वी नेकपा एमालेबाट निरुकुमारी कुँवरले चार हजार तीन सय ६२ मतभार प्राप्त गरिन् । अन्यमा नेकपा एमालेका गोपाल शाक्यले चार हजार तीन सय ४४ मतभार प्राप्त गरे ।
यसैगरी नेमकिपाबाट महिलामा उम्मेदवारी दिएकी गीता काफ्लेको एक सय ३२ मतभार प्रप्त गरिन् भने अन्यमा कृष्णबहादुर तामाङले एक सय ३२ मतभार प्राप्त गरे । बागमति प्रदेशमा प्रदेशसभा सदस्य एक सय ६ जना र स्थानीय तहका दुई सय ३७ जनाले मतदान गरेका थिए ।
मधेश प्रदेशमा पनि सत्ता गठबन्धन
मधेश प्रदेशमा पनि सत्ता गठबन्धनका उम्मेदबार विजयी भएका छन् । मधेश प्रदेशको दुवै पदमा सत्ता गठबन्धनका उम्मेदबार विजयी भएका हुन् । उक्त प्रदेशमा मोहम्मद खलिद सिद्दिकी र उर्मिला अर्याल विजयी भएका हुन् । सिद्दिकी ६ हजार ६ सय ७८ मतभारसहित विजयी भएका हुन् । उनले जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका थिए । सिद्दिकीले प्रदेशसभातर्फ ७५ र स्थानीय तहतर्फ एक सय ७१ मत हासिल गरे । प्रदेशसभातर्फ प्रतिमतको ४८ मतभार र स्थानीय तहतर्फ प्रतिमतको १८ मतभार रहने व्यवस्था छ ।
उक्त पदमा उम्मेदवारी दिएका उस्मान अन्सारीले दुई हजार सात सय ६६ मतभार पाएका थिए । अन्सारीले प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ८७ मत हासिल गरे । यसैगरी मधेश प्रदेशबाट महिला समूहतर्फ नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार एक सय ५६ मतभारसहित निर्वाचित भएकी हुन् । निर्वाचन कार्यालयका अनुसार यो समूहतर्फ दुई प्रदेशसभा सदस्यसहित आठ मत बदर भएको छ ।
गण्डकी प्रदेशमा गठबन्धनको एकलौटी
सत्ता गठबन्धनले गण्डकी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा तिनवटै सिट जितेको छ । बुधबार भएको निर्वाचनमा तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनबाट काँग्रेसकी कमला पन्त तथा माओवादीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनार विजयी भएका हुन् । पन्तले तीन हजार ८४ मतभार प्राप्त गरेक छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले दुई हजार सात सय २४ मतभार पाइन् ।
यसैगरी दलित कोटातर्फ माओवादीका सुनारले स्थानीय तहबाट तीन हजार ३० मतभार पाए । एमालेका अर्जुनकुमार सुनामले दुई हजार सात सय २४ मतभार पाए । अन्य कोटाबाट माओवादीका सुरेश आलेमगरले तीन हजार ९६ मतभार पाए । एमालेका पुण्यप्रसाद पौडेलले दुई हजार ६ सय ९४ मतभार पाए ।
प्रदेश १ मा एमालेको एक सीट
१ नम्बर प्रदेशमा सत्ता गठबन्धनको क्लिन स्वीप अभियानलाई चुनौति दिंदै अल्पसंख्यकतर्फबाट नेकपा एमालेका ग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पा चार हजार सात सय ३४ मतभारले विजयभी भएका हुन् । कांग्रेसका गोपाल वस्नेत र एमालेका गुरु बरालबीच समान चार हजार चार सय ८८ मत पाएका थिए । गोला प्रथा गर्दा कांग्रेसका बस्नेतले बाजी मारे । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी एकिकृत समाजवादीकी जयन्ती राई निर्वाचित भइन् । उनले चार हजार ६ सय मतभार प्राप्त गरेकी थिइन् ।
आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन भएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । संघीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा थिए । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका थिए ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार चार सय ९३ र प्रदेशसभाका पाँच सय ३२ मतदाता रहने छन् ।
जनकपुरमा झडप
मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको छ । ‘नो खाद, नो भोट’ को नारा लगाउँदै उनीहरूले बिहानैदेखि जनकपुरमा प्रदर्शन गरेका थिए । जनमत पार्टीका कार्यकर्ताले प्रदेश सभा सदस्य मनिष सुमन तथा सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँ र उपमेयर रेणुका पौडेल सवार गाडी तोडफोड गरेका छन् । सो क्रममा सुमन र मेयर प्रसाईं सामान्य घाइते भएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव सवार गाडीमा पनि रामानन्द चोकमा तोडफोड भएको छ । गाडी चालक लक्ष्मी कुमार यादव घाइते भएका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधाममा चिकित्सकमाथि पनि आक्रमण गरेका छन् ।
जनकपुरधामको पिडारी चोकमा जलेश्वर अस्पतालका मेसु डा.सतिस साह माथि जनमतका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । आक्रमणमा परि घाइते भएका मेसु साहको मुखमा ८ वटा टका लागेको छ । मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उनको गाडीमा आक्रमण भएको हो । किसानका मुद्दा उठाउँदै जिल्लामा गतिविधि गर्दै आएका उनीहरुले बुधबर निर्वाचनको दिन बिहानैदेखि जनकपुरधामका चोकहरुमा टायर बालेर प्रदर्शन गर्दै आएका थिए । निर्वाचनस्थलमा समेत प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar