२०८१ भाद्र ३०, आईतबार
काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) ले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने भएको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ निर्वाचन चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्न लागेको हो । कमल निर्वाचन चिन्ह यसअघि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) ले पाएको थियो । जीवन राईले दर्ता गरेको उक्त पार्टीलाई गत जेठ ३० मा निर्वाचन आयोगले प्रमाणपत्र दिएको थियो ।
अहिले राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माधव कुमार नेपाल नेतृत्वको समाजवादीमा एकीकरण गरेर चुनाव चिन्ह ‘कलम’राख्न लागिएको हो । त्यसका लागि राईलाई समाजवादीको केन्द्रीय सदस्य बनाउने निर्णय बिहीबारै भैसकेको छ । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रक्रिया पुर्याएर शुक्रबारै निर्वाचन आयोग जाने तयारीमा लागेको जानकारी दिए । ‘सकेसम्म आजै निर्वाचन आयोग जाने तयारी हो, भ्याइएन भने आइतबारसम्म जान्छौ’, खतिवडाको भनाइ छ ।
निर्वाचन चिन्ह परिवर्तन गर्न आयोग जानुअघि पार्टी एकता गरेको संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ । ‘आयोग जानुअघि दुवै पक्ष (समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जीवन राई)को पार्टीका तर्फबाट संयुक्त वक्तव्य जारी गर्नुपर्ने हुन्छ । त्यसको ड्राफ्ट बनाउने काम भइरहेको छ’, राईले सोही अनुसार तयारी भैरहेको बताए ।
नेकपा एकीकृत समाजवादीले गत भदौ नौ गते निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको थियो । त्यसबेला सो पार्टीले आफ्नो चिन्ह ‘किताब’ प्रस्ताव गरेर सोही आधारमा आयोगले मान्यता दिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar