२०८१ आश्विन २०, आईतबार
काठमाण्डौ – नेकपा (एमाले)को जारी विधान महाधिवेशनमा नेताहरुले पार्टीमा व्यक्ति हावी भएको भन्दै ‘ओली देवत्वकरण’को आलोचना गरेका छन् ।
महाधिवेशनमा सहभागी प्रतिनिधिले पार्टीमा ‘व्यक्ति होइन, पार्टी र नीति स्थापित गर्नुपर्छ’ भन्दै आलोचना गरेका हुन् । नेताहरुले सिधै ‘ओली देवत्वकरण’ नभने पनि पछिल्लो समय पार्टीमा व्यक्तिलाई प्रमुख ठानेर देवत्वकरण गर्ने प्रवृत्ति मौलाएको भन्दै यस्तो प्रवृत्तिले कम्युनिष्ट पार्टीको रुपमा रहन नसकिने भन्दै यस्तो प्रवृत्ति त्याग्नु पर्ने भनेका छन् ।
ललितपुरको गोदावरीमा जारी महाधिवेशनको दोस्रो दिन छलफलमा सहभागी प्रतिनिधिले कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने सुझाव दिँदै पार्टीमा कम्युनिष्ट भावना च्यूत हँुदै गएको दुखेसो पोखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमा समूहगत छलफल गर्दै नेताहरुले यस्तो सुझाव दिएका छन् ।
विभिन्न १० समूहमा भएको समूहगत छलफलमा सहभागिहरुले उपाध्यक्षको संख्या सात बनाउन सुझाव समेत दिएका छन् । यस्तै उनीहरुले पदाधिकारी समावेशी बनाउन सुझाव दिएका छन् । पदाधिकारीमा महिला, दलित, जनजाति, मधेसी भूगोलका आधारमा उपाध्यक्ष हुनुपर्ने विषयमा महाधिवेशन प्रतिनिधिले सुझाव दिएका छन् । प्रदेश १ को टोली नेता भानुभक्त ढकालले कम्युनिष्ट पार्टीका बीचमा एकता हुनुपर्ने, पार्टीमा कामरडेली भावनाबाट च्यूत हुँदै गएको बताए । ‘व्यक्ति होइन, पार्टी र नीति स्थापित गर्नुपर्छ’ भन्ने उनको मत रहेको छ ।
लुम्बिनी प्रदेशका टोली नेता लीला गिरीले वरिष्ठ नेता सहित ७ उपाध्यक्ष बनाउनुपर्ने बताए । प्रदेश १ का टोली नेता ढकालले पनि वरिष्ठ नेता सहित ६ उपाध्यक्ष हुनुपर्ने र एक उपमहासचिव राख्नुपर्ने समूहको निष्कर्ष प्रस्तुत गरेका छन् । विधान संशोधन प्रस्तावमा उपाध्यक्षको संख्या ५ र उपमहासचिव पद खारेज गर्ने प्रस्ताव गरिएको छ । तर सहभागिहरुले उपाध्यक्षको संख्या बढाउनुपर्ने, उपमहासचिवको पद एक जना हुनुपर्ने र पदाधिकारी समावेशी चरित्रको हुनुपर्ने सुझाव दिएका छन् ।
बाग्मती प्रदेशका टोली नेता आनन्द पोखरेलले व्यक्तिलाई ब्राण्डिङ गर्ने कि नगर्ने भन्नेमा मत बाझिएको बताए । सरकार र पार्टीको सम्बन्ध प्रष्ट पार्नुपर्ने भन्दै उनले नजिक हुनेहरुले मात्र अवसर पाएकाले विधि बनाउनुपर्नेमा धारणा राखे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar