२०८१ भाद्र २२, शनिबार
दुर्गेश भाइ ‘ख्यास्स पुतली’ गाएर विवादमा परे भनेर हामी चेलीहरूलाई कति चित्त दुख्यो, बिचरा ! टिकटकमा कति राम्रो कमेन्ट हुन्थ्यो; भ्युज र लाइक कति आउँथे कति ? सब स्वाहा भयो; बर्बाद भयो ! यदि त्यही गीत ज्योति मगरले गाइदिएको भए ठिक्क पर्यो नि भन्दै पुरुष दाजुभाइहरू उफ्री -उफ्री नाच्नुहुन्थ्यो होला ! कि कसो त ?
तीज, यो शब्द संस्कृतको तृतीयाबाट बनेको हो । तीज भाद्रशुक्ल तृतीया तिथिमा पर्छ । तीज मनाउने चलन पौराणिक कालदेखि नै चलेको हो । भगवती पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन तीजको व्रत बस्नुभएको थियो । नेपालमा भाद्र शुक्ल त्रयोदशीका दिन मनाइने तीज पौराणिक कालकै निरन्तरता हो । अविवाहिताहरूले योग्य वर पाउन तीजको व्रत बस्दछन् । विवाहिताहरूले पतिको दीर्घायुका लागि यो व्रत बस्दछन् ।
तीजको पर्सिपल्टको पञ्चमी तिथिमा रजोवती भएको बेलामा गरिएका पाप कटाउन ऋषिहरूको विशेष पूजा गर्ने चलन छ । चतुर्थी तिथि टुटेर भोलिपल्टै पञ्चमी पर्ने सम्भावना कम हुन्छ । तीजको व्रत बस्नेले पानी पनि खान हुँदैनथ्यो । लगातार तीन दिन भोक–भोकै रहनुपर्ने व्रतालुको बाध्यता बुझेर दर खाने परम्परा चलाइयो । दही, दूध र घिउका गरिष्ठ सात्विक भोजनलाई दर भनियो । दूधको तर बुझाउने शब्दकै अपभ्रंश भएर दर बन्यो ।
तीज आउन दुई दिन मात्र बाँकी छ, गत वर्षतिर मलाई यति बेला तीजको चटारोले छपक्कै छोपेको हुन्थ्यो । दुई महिना अगाडिबाट कुन दिन कसकोमा भेला हुने भन्ने विषयमा छलफल सुरु हुन्थ्यो । सातामा दुई दिन बिदा हुन्छ, हाम्रो कर्मस्थल सिडनीमा । बिदा हुने अर्को दिन अरू कसैले बोलाइहाले भने समय कसरी मिलाउने ? हिजो फलानाकहाँ के–के खाइयो ? आफूले के लाइयो ? अरूले के लगाए ? को कसरी सिँगारियो ? अब के लाउने ? कसरी सिँगारिने ? आफ्नो पालो कहिले आउने हो ? के–के बनाउने हो ? कसरी बनाउने हो ? कस–कसलाई बोलाउने हो ? मनमा यस्तै भुटभुटी र बाहिर रमाइलो गरेर दुई महिनापहिल्यैदेखि तीजको चटारो पालिन्थ्यो । यति मात्रै हो र ? सिँगारिएर घरबाट निस्कनुअगाडि श्रीमान–श्रीमतीले फोटो खिच्ने अनि अनुहार–पुस्तिकामा टाँस्ने प्रतियोगिता हुन्थ्यो । उता गएर पालैपालो सबै जनासँग नारिएर तस्बिर खिचाउनु पथ्र्यो ।
ग्रुप च्याटिङ् ! फेरि परिवार, साथी–सहेली सबै जनालाई छुट्टाछुट्टै निम्तो, छुट्टाछुट्टै प्लानिङ त गर्नैप¥यो । परेको बेला सबै जना चाहिन्छ । के गर्नु ? यस्तै हुन्छ । विदेशको तीज । तीजमा दर खान आफू मात्र एक्लै कहाँ जान पाइयो र ? चट्ट सारी लगाएर श्रीमान्ज्यूसँग दुई÷चारओटा फोटो नखिच्ने त कुरै भएन नि ! फेरि उहाँलाई सँगै नलगे बच्चाचाहिँ कसले हेरिदिन्छ ? अनि हामी नाच्नुपरेन ? अँ, हिजो हामी महिला मात्र भएर दर खाइन्थ्यो । श्रीमानहरू सँगै गएपछि दरमा दारु थपिन थाल्यो ।
हामी पनि के कम ? समानताको कुरा छ, उहाँहरूलाई ह्विस्की चल्दा हामीलाई वाइनसम्म त चल्नैपर्छ नि होइन र ? तीज महिलाहरूको पर्वभन्दा मलाई कहिलेकाहीँ शंका लाग्छ । महिलालाई भन्दा बढी पुरुषलाई देख्छु तिजको कार्यक्रममा । महोत्सव भनिन्छ; गायक पुरुष, प्रमुख अतिथि पुरुष ! पुरुषले नै सारी लगाएर नाचेपछि रत्यौली र झ्याउरे गाएपछि तीज भनिरहनुपर्छ त ? अचेलको तीज र दोहोरी साँझ एकै हो भनिदिए एकै हो भनिदिँदा फरक पर्ला र ?
दुर्गेÞश भाइ ‘ख्यास्स पुतली’ गाएर विवादमा परे भनेर हामी चेलीहरूलाई कति चित्त दुख्यो, बिचरा ! टिकटकमा कति राम्रो कमेन्ट हुन्थ्यो; भ्युज र लाइक कति आउँथे कति ? सब स्वाहा भयो; बर्बाद भयो ! यदि त्यही गीत ज्योति मगरले गाइदिएको भए ठिक्क प¥यो नि भन्दै पुरुष दाजुभाइहरू उफ्री–उफ्री नाच्नुहुन्थ्यो होला ! कि कसो त ?
तीज महिलाको पर्व हो कि पुरुषको पनि हो ? पुरुषलाई प्रमुखअतिथि बनाउनुसम्म त ठिकै होला । हुँदा–हुँदा अब त नाच, गान र बजानमा महिला र पुरुष सरोबरी हुन थाल्यो । महिलाका पीडा पोख्ने मौलिक गीतहरू मासिए । पहिले–पहिले माइती पक्षले विवाहित दिदी–बहिनी अथवा चेलीबेटी लिन दर खाने अगिल्लो दिन जाने चलन थियो । माइती र चेलीबेटी मिलेर दर खाने चलन थियो । हुने–खाने र हुँदा खाने सबैले मीठोमसिनो खान्थे । गच्छेअनुसार सबै चेलीबेटीहरू सिँगारिन्थे । शिवालयमा भेला भएर नाचगान गर्थे ।
तीजभरि महिलालाई घरभित्रका अनि मेलापातका काम गर्नुपर्दैनथ्यो । परिवारका पुरुष सदस्यले सघाउँथे । अचेल त फोनबाट अथवा म्यासिन्जरबाट बोलाइन्छ । आमा, फुपूदिदीहरू र माइतका सहेलीहरूसँग मनाइएका तीजहरू झलझली सम्झनामा आइरहन्छन् । विदेशमा पनि हामी समयअनुसार रमाउने गरेका थियौँ । चाडबाडको चटारो पनि रमाइलो हुन्थ्यो । यो वर्ष अस्ट्रेलियामा तीज नै नआउने भयो । चेलीबेटी र माइतीकै भेट नहुने भयो । कोरोनाको आतंक हटेछ भने अर्को वर्षको तीज हर्षपूर्वक मनाउनुपर्ला ।
हरितालिका तीज नेपाली नारीहरूको विशेष पर्व हो । हाम्रो सनातन धर्म–संस्कृतिका आधारमा यस पर्वको विशेष महिमा र महत्व छ । शास्त्रमा के लेखिएको छ, त्यो त म भन्न सक्दिनँ । परम्परा के थियो चाहिँ भन्न सक्छु । धर्मको पनि आफ्नै नियम हुनेरहेछ भन्नेकुरा चाहिँ आजको युगमा पनि विधिपूर्वक रामजान मनाउने मुस्लिम समुदायलाई ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ । यसै गरी निराहार व्रतको प्रसंगमा गर्भाचौथको व्रत बस्ने समुदायका नारीहरूसँग पनि सोध्न मन छ । बाँकी कुरा कति र कसरी मान्ने त्यो हामी महिलाहरूको नितान्त व्यक्तिगत मामला हो कि जस्तो लाग्छ । हामीलाई लाग्छ–कलियुगमा छाँै हामी सत्ययुगको सिद्धान्त कसरी अपनाउन सकिन्छ र ? मैले नबुझेको अर्को कुरा–दर खाने चलन के होला त ! किन दरखाने चलन आयो होला, किन माइतमै गएर दर खाने होला, अनि दरमा के खाने होला ?
हामी सानै छँदा मेरी आमा कहिल्यै माइत जानुभएन, तीजमा । किनकि मामाघर टाढा थियो; हामी साना थियौँ; घरको रेखदेख गरिदिने र आमालाई माइत जान भनेर बिदा दिने कोही थिएन; तीज आयो कि आमाको अनुहार निहाउरो हुन्थ्यो । म नबुझेर मौन रहन्थेँ, सायद ! त्यति बेला तीजको विशेष महत्व रहेछ । माइत जाने, माइतमा आमा, भाउजूले पकाएर दिएको मीठो–मसिनो खाने, साथीसंगीसँग रमाउने, नाचगानको माध्यमबाट मनका भावनाहरू, पीडालाई उतार्ने माध्यम रहेछ, तीज ।
पछिपछि आफू हुर्किंदै जाँदा बुझ्दै गएँ, धेरै कुराहरू । आफ्नो विवाह भयो । त्यसपछि पो आमाको समर्पणलाई सम्मान गर्नुपर्छ भन्ने बोध भयो । सम्पूर्ण विवाहित नारीहरूप्रति सहानुभूति, माया र सम्मान वढेको अनुभूति भयो । चेलीबेटी घरभरि हुँदाको रमाइलो आफू माइत जान नपाएको र आमासँग बस्न नपाउँदाको नरमाइलोले छोपिन्थ्यो । चाहेर पनि कहिल्यै माइत जान नपाउने आमाको सम्झना उर्लिएर आउँछ । माइतीको सम्झनामा गाइने विरहका गीतहरू अहिले कहाँ हराए ? चेलीका हृदय–विदारक पीडाका बिलौनाहरू कहाँ बिलाए ? विरह गाथाभित्र पाइने हृदयस्पर्शी संवेदनाका स्वरहरू सुनाउने तीजको भाका झल्झली सम्झन्छु ।
तीजमा चेलीलाई लिन जाने चलन कहाँ पुग्यो ? अहिले जमाना नै फरक भइसक्यो; सामाजिक सञ्जालको विस्तार भएको छ; फोनबाटै निम्ता, फेसबुकमा शुभकामना कति सजिलो छ । भौगोलिक दुरी त मेटियो तर भावनात्मक दुरी बढ्यो । यो सामाजिक सञ्जालले ल्याएको सुविधाले पारिवारिक सम्बन्धमा कति प्रभाव पारेको छ र पार्दै छ ? त्यो त समयले बताउला । समय परिवर्तन भयो, परिवेश बदलियो, हामी महिलाहरू सचेत र अधिकारले सम्पन्न भयौँ । तर, कर्तव्यबाट विमुख त हुँदै छैनौँ ? तीजलाई पर्वको रूपमा जहाँ, जसरी सहज हुन्छ त्यसरी नै मनाउँदा हुन्छ भन्ने कुराको अनुभव भयो ।
माइतीघर सबै जनालाई प्यारो हुन्छ । आफू जन्मेको र हुर्केको माटो, आमाको वात्सल्य र ममताले पकाएर पस्किएको भोजन कसरी बिर्सन सकिन्छ ? उखान त्यत्तिकै बनेको होइन रहेछ, ‘अरूको लाख आमाको काख’ । जान मन त कसलाई पो नलाग्ला ? तैपनि सम्भव र असम्भव समयलाई समायोजन गर्न जान्नुपर्छ भनेर बुझ्ने पनि भएका छौँ, हामी महिला । के साँच्चै समयले कोल्टे फेरेको हो त ? माइत मिले जाउँला, नमिले नजाउला । किन तीजकै दिन जानुपर्यो ? बिचरा भाउजू–बुहारीलाई पनि माइत जानुपर्ला । बरु अर्कै दिन जाऊँ न त, सजिलो बनाइदिऊँ न त भन्दा पनि मनले मान्दो रहेनछ ।
यो विशेष चाडबाड ! खुसी र रमाइलाको उक्सव । यस्तै–यस्तै बाध्यताले पनि होला महिला र पुरुषको समावेशितामा दुई/तीन महिना पहिलेदेखि नै तीजको महोत्सव आरम्भ हुन्छ । युटुबमा जात–जातका भाका लिएर रंगी–बिरंगी गीतहरू घन्किन्छन् । दिदी–बहिनी, भाउजू–बुहारी, दाजुभाइ र ज्वाइँभिनाजुसमेत सबै जना आफन्तको जमघटमा तीज पर्व नयाँ किसिमले मनाइँदै छ । फेस बुक र टिकटकमा समर्थक बढाउन, दरका परिकार प्रदर्शन गर्न अनि आर्थिक कारणले विपन्नहरूलाई खिसीट्युरी गर्न तीजलाई दुरुपयोग पो गरिएला कि भन्नेतर्फ पनि सचेत हुनुपर्छ कि ?
कोरोनाको प्रकोपले यस वर्ष हामीलाई ठूलो समूहमा भेला हुन रोकेको छ । सम्भव भएसम्म हामी तीजको रमझमलाई रमझमकै रूपमा मनाइरहौँ । परम्पराका सुन्दर पक्षलाई समाइरहौँ । चेलीबेटी, माइती र साथीसहेलीको सम्बन्ध सुमधुर बनाइरहौँ । तीज मनाइरहौँ । तडकभडक र देखासिखीबाट जोगिँदै हुने–खानेदेखि हुँदा खानेसम्मका सबैलाई तीजले रमाइलो दिइरहोस् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar