२०८१ भाद्र ३०, आईतबार
२१ भदौ,काठमाण्डौ – सत्तारुढ गठबन्धन नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले गृह मन्त्रालयको विज्ञप्ति विरुद्ध थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।
अनेरास्ववियका अध्यक्ष सुदेश पराजुलीले सामाजिक संजाल मार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध नगर्न गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिको विरुद्धमा थप आन्दोलन गर्ने चेतावनी दिएका हुन् । भारतीय प्रधानमन्त्री मोदीको विरोध प्रर्दशन नगर्न भन्दै गृह मन्त्रालयले पटक पटक सूचना जारी गरेपछि सत्तारुढ गठबन्धनकै विद्यार्थी संगठनले आज सोमबार काठमाडौं सहित देशका बिभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
‘यो सरकारका मान्छेहरुले भारतीय तलब खान्छन् कि नेपालीको तलब खान्छन् ? हिजोको गृह मन्त्रालयको प्रेस विज्ञप्तिले गम्भीर प्रश्न उठाएको छ,’ अध्यक्ष पराजुलीले भने, ‘जयसिंह धामी मारिँदा नबोल्ने ? नेपाली भूमिमा भारतीय सैनिकको हेलिकोप्टर उड्दा नबोल्ने ? तर, सोही घटनामा भारतीय प्रधानमन्त्रीको विरोधमा प्रदर्शन गर्दा कानुन लगाउने काम किन भयो ? यस घटनामा गृह मन्त्रालयले माफी माग्नुपर्छ ।’
उनका अनुसार सरकारले माफी नमागेसम्म निरन्तर विरोधका कार्यक्रम सञ्चालन हुनेछ, जसअनुसार आज अपरान्ह ४ बजे अखिलले मीनभवन काठमाडौंसहित देशैभरी प्रदर्शन गर्नेछ । ‘यो प्रेस विज्ञप्ति मात्रै होइन, नेपाली जनताको स्वाभिमानलाई मोदीको पाउमा सरकारले लगेर राखिदिएको छ, यो अपमान र लज्जास्पद घटना हो, यसमा सरकारले माफी माग्नै पर्छ,’ पराजुलीले अगाडी भने, ‘सत्तामा पुगेर जनविरोधी काम गर्न पाइँदैन, सरकारले त्यो विज्ञप्तिलाई अविलम्ब फिर्ता लिएर नेपाली जनतासँग माफी माग्नुपर्छ ।’
अखिलले गरेको विरोध प्रदर्शनमा माऊ पार्टी नेकपा (एस) सँग कुनै सम्बन्ध नभएको पनि उनको भनाइ छ । ‘अखिल सदैव जनविरोधी कार्यको प्रतिपक्ष हो, हाम्रो पार्टीले के भन्छ ? के गर्छ ? त्यो अखिलले जान्दैन,’ पराजुलीले भने, ‘तर, सार्वभौमसत्ता र नेपाली जनताको स्वाभिमानमा नै आँच आउने काम गर्नेलाई अखिलले छाड्दैन, सरकारले यसघटनामा अविलम्ब माफी मागोस् ।’
नेकपा (एस) गत सातादेखि नै भारतीयद्धारा नेपाली भुमि अतिक्रमण र जयसिंह धामी मृत्यु प्रकरण विरुद्ध निरन्तर प्रदर्शनमा छ । सोही घटनालाई लिएर कुटनीतिक क्षेत्रमा दखल पर्ने भन्दै गृह मन्त्रालयले मोदी विरुद्ध प्रदर्शन नगर्न आइतवार प्रेस विज्ञप्ति जारी गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar