२०८१ आश्विन २०, आईतबार
१७ भदौ,सर्लाही – सर्लाहीको हरिवनमा ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा कल्भर्ट निर्माण अलपत्र परेको छ ।
हरिवन नगरपालिका – १ र ८ को सिमाना भएर बग्ने फेदी खोलामाथि निर्माण भइरहेको कल्भर्ट अलपत्र परेको हो । समयमै कल्भर्ट निर्माण नहुँदा यात्रुहरूले जोखिमपूर्ण ढंगले खोेलाको बाटो प्रयोग गर्नुपरिरहेको छ ।
सर्लाहीको हरिवन र सिन्धुलीको हरिहरपुरगढीस्थित क्यानेश्वर जोड्ने उक्त पुल निर्माण नहुँदा वर्षामा समेत कोही बिमारी परिहाले खोलाको बाढीमा हेलिनुपर्ने बाध्यता रहेको हरिवन नगरपालिका – १ बिलन्दीका सोमबहादुर वाइवाले गुनासो गरे ।
उक्त कल्भर्ट निर्माणका लागि सर्लाहीको साविक मानपुर गाविस- ३ को ठेकेदार कम्पनी आरके निर्माण सेवाले २३ लाख ९१ हजार ९३० रुपैयाँमा ठेक्का पाएको थियो । सडक डिभिजन कार्यलय चपुरका अनुसार ठेकेदार कम्पनीले १० चैत २०७७ मै निर्माण सम्पन्न गर्ने शर्तमा ११ मंसिर २०७७ मा ठेक्का सम्झौता गरेको थियो । त्यसलगत्तै निर्माण कार्य सुरु गरेको उक्त कम्पनीले कल्भर्टको दुवैतर्फ इट्टाको पर्खाल लगाएर काम यसै अलपत्र छाडेको हो ।
यसरी निर्माण सुरु भएर रोकिएपछि स्थानीय तथा उक्त सडक भएर ओहोरदोहोर गर्ने यात्रुहरू समेत निराश भएका छन् । निर्माण व्यवसायीका प्रतिनिधि रवीन्द्रकुमार यादवलाई निर्माण छिटो सम्पन्न गर्न आग्रह गर्दा कहिले कोरोना र कहिले वर्षातको बहाना बनाउने गरेको स्थानीय युवा साङबहादुर लोले जानकारी दिए । सामान्य कल्भर्ट बनाउने काममा समेत ठेकेदार कम्पनीले काम अलपत्र पारेर यात्रुहरूको ज्यान जोखिममा पारेको उनीहरूको आरोप छ ।
यता, ठेकेदार कम्पनीले भने विभिन्न प्राविधिक कारणले कल्भर्ट निर्माणमा ढिलाइ भएको बताएका छन् । काम गर्दागर्दै पछिल्लो समय वर्षात सुरु भएकाले काम रोकिएको उनीहरुको भनाइ छ । वर्षा रोकिनेबितिकै निर्माण पुनः सुरु गर्ने ठेकेदार कम्पनीको भनाइ छ । निर्माण कार्यमा ढिलाइ भएको विषयमा व्यापक गुनासो आएपछि आफूले गत २१ वैशाखमै ठेकेदार कम्पनीलाई चिठी काटेर सचेत गराएको सडक डिभिजन कार्यलय चपुरका प्रमुख नरेशप्रसाद केसरीले जानकारी दिए ।
कल्भर्ट निर्माण कार्यमा भएको ढिलासुस्तीको विषयमा स्थानीय तहले समेत चासो नदेखाएको स्थानीयको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar