१ भदौ,काठमाण्डौ – सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेको छ ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशन गएराति १२ बजेबाट अन्त्य गरेकी हुन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा पठाएको पत्र वाचन गर्दै भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को ३२ साउनको सिफारिशमा संघीय संसद दुवै सदनको चालु अधिवेशन २०७८ साल साउन ३२ गते सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’
असार २८ मा सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुनःस्थापित गरेपछि पुनः सुरु भएको प्रतिनिधिसभा बैठक औपचारिकतामा मात्र सीमित रहृयो । कुनै पनि बिजनेसमा छलफल नै नगरी प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको हो । पुनःस्थापनापछि साउन ३ गते पहिलो बैठक बसेको थियो । गत साउन ३ गतेबाट सोमबारसम्म प्रतिनिधिसभा बैठक २९ दिन चालु रहृयो । चालु अधिवेशनमा विभिन्न समयमा ज्यान गुमाएका वर्तमान र पूर्वसांसदहरूप्रति शोक प्रस्ताव पारित गर्ने काम भयो । चालु अधिवेशनमा कुनै नयाँ विधेयक दर्ता भएन ।
त्यस्तै सभामुख सापकोटाका अनुसार राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएर आएका सातवटा विधेयकहरूसम्बन्धी सभामा जानकारी गराउने काम भयो । त्यसैगरी यस अधिवेशनमा सभाका अघिल्ला अधिवेशनहरूबाट विभिन्न चरणमा रहेका जम्मा ३७ वटा विधेयकहरू प्राप्त भएका थिए । जसमध्ये ‘कारागार विधेयक, २०७६’ का सम्बन्धमा सम्बन्धित समितिबाट सभामा प्रतिवेदन पेश भएको सभामुखले जानकारी दिनुभयो । त्यसबाहेक संसदमा अड्किएर रहेका कुनै पनि विधेयकमाथि छलफल हुन सकेन । विभिन्न निकायका वार्षिक प्रतिवेदन पेश गर्ने र दिवंगत वर्तमान र पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्नेमै बैठकहरू सीमित भएका छन् ।
विभिन्न बैठकमा १८२ जनाले शून्य समयमा र ५८ जनाले विशेष समयमा आफ्नो समसामयिक विषयमा धारणा राखे । विभिन्न समयमा मृत्यु भएका सांसद र पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव पारित भए । मन्त्रिपरिषद्लाई समेत पूर्णता दिन नसकेको सरकारले संसदलाई विजनेस दिन त सकेन, प्रतिनिधिसभामा विचाराधीन विधेयकका विषयमा पनि छलफल हुन सकेन । आम चासो र तीन तहको अधिकार क्षेत्र तथा जनताको प्रत्यक्ष जीवनसँग जोडिएका महत्वपूर्ण विधेयकहरू लामो समयदेखि संसदमा विचाराधीन छन् ।
तर, सत्ता पक्षीय सांसद प्रकाश रसाइली भने अहिले अधिवेशन अन्त्य हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउछन् । विशिष्ठ अवस्थामा बनेको सरकारले विजनेस दिएन भन्नुभन्दा पनि विशिष्ठ अवस्थामा अधिवेशन अन्त्य गरेको उनले बताए । सरकार र सत्तारुढ दल संसदका विषयमा संवेशनशील रहेको भन्दै आवश्यक पर्दा फेरि पनि जननिर्वाचित संसद बोलाउने उनको तर्क छ । ‘विशिष्ठ किसिमको अवस्थामा संसद अधिवेशन अन्त्य भयो’, उनले भने । ‘संवैधानिक व्यवस्था बमोजिम भोलि आवश्यक पर्दा सरकारले संसद बोलाउँछ । चाहेको बेलामा बोलाउँछ । संसदमा रहेका दलहरू पनि संवेदनशील नै छन् । यसलाई धेरै नकारात्मक नजरले हेर्नु उपयुक्त हुँदैन ।’ आजको हिमालय टाईम्समा समाचार प्रकाशित् छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar