२०८१ आश्विन १, मंगलबार
१८ साउन,काठमाण्डौ – वर्षातका कारण बाढी र पहिरोले यो वर्ष सडक र पुलमा मात्र २ अर्ब १६ करोडको क्षति भएको छ ।
यो वर्ष मनसुनी वर्षाका कारण बाढी पहिरोले २ अर्ब १६ करोड रुपैयाँ बराबरको राजमार्गका सडक र पुलमा क्षति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको हो । हिजो आइतबार संसद्को विकास तथा प्रविधि समितिमा देशभरका सडक तथा पुलमा भएको क्षतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विवरण प्रस्तुत गरेको गरेको हो ।
मन्त्रालयका अनुसार यो वर्षको मनसुनका कारण अरनिको राजमार्गमा मात्रै १ अर्ब ८० करोड रुपैयाँ बराबरको सडक तथा पुलमा क्षति भएको छ । अरनिको राजमार्गमा ठाउँ/ठाउँमा सडक कटान भएकाले सडक मर्मतमा समेत चुनौती रहेको सडक विभागले जनाएको छ । सडक विभागले आफ्नो कार्यक्षेत्रभित्र पर्ने १४ हजार ९ सय १३ किमी लम्बाइका ८० वटा राजमार्गमा १ सय भन्दा धेरै स्थानमा बाढी पहिरोले सडक अवरुद्ध भएको जनाएको छ ।
बेंसीशहर चामे सडक डेढ महिनादेखि अवरुद्ध भएकोमा ६५ किमी सडक मध्ये अब १३ किमी सडक बनाउन बाँकी रहेको र दसैँअघि सम्पन्न गर्ने विभागले बताएको छ । वर्षाका बेला राजमार्गको यातायात अवरुद्ध भएको अवस्थामा आपत्कालीन बाटो मर्मतका लागि २०५ वटा डोजर, एक्स्काभेटर लगायतका निर्माण उपकरण परिचालन गरिरहेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।
उनले आपत्कालीन सडक निर्माणका लागि ३३ वटा सडक डिभिजन कार्यालयबाट इन्जिनियर हेल्पर लगायतका जनशक्ति तैनाथ गरेको पनि जानकारी दिए । यस्तै सडक विभागले आफ्नो वेबसाइटमा कुन कुन राजमार्ग अवरुद्ध भएको छ त्यसको लाइभ जानकारी दिने व्यवस्था गरेको पनि उल्लेख गरे । राजमार्गमा जथाभाबी शाखा सडक निर्माण, भारी वर्षा, पहिरो, कमजोर भूबनोट, जलवायु परिवर्तन आदी कारणबाट सडक अवरुद्ध हुने गरेको सडक विभागको भनाई छ ।
बझाङमा अवरुद्ध भएको सडक खोल्ने काम गरेको र लमजुङ बेसीशहरदेखि मनाङको चामेसम्मको सडक खुलाउने काम भएको सडक विभागको भनाई छ । चामे सडकमा ५ वटा काठे पुल बगाएको र स्थानीयलाई अस्थायी पुल बनाउन दिइएको छ ।
साँफेबगर मार्तडी सडकमा ३ किमी सडक पहिरो गएकोले तत्काल सडक मर्मत गर्न सम्भव नभएको विभागको भनाइ छ । यो वर्ष हिउँदमा सरकारले ३ सय जना इन्जिनियर थपिदिएकोले अब जनशक्तिको अभाव नहुने उनको भनाइ थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar