२ साउन,काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक प्रावधानअनुसार २७ साउनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । यसअघि १ सय ४६ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका देउवालाई सोमबार सर्वोच्च अदालतले फैसला गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।
देउवालाई प्रधानमन्त्रीमा समर्थन रहेको भन्दै नेकपा एमालेमा माधवकुमार नेपाल पक्षधरका २३ सांसदले पनि हस्ताक्षर गरेका थिए । पछि सर्वोच्चमा रिट निवेदन दिँदा पनि यी सांसद सर्वोच्च अदालत पुगेका थिए । तर, पछिल्लो समय नेकपा एमालेमा देखिएको विवाद समाधान हुन सक्ने सम्भावना बढ्दै गएको विश्लेषण आइरहँदा प्रधानमन्त्री देउवाले सकेको छिटो विश्वासको मत लिने तयारी गरेका छन् । ‘उहाँले एक महिना कुर्नुको कुनै कारण नै छैन, जतिसक्दो छिटो विश्वासको मत उहाँले लिनु भयो भने सरकार स्थायी हुने र यसले गर्ने कामहरु व्यवस्थित गर्न सकिने हुँदा उहाँले छिटै विश्वासको मत लिने योजना बनाउनु भएको हो,’ देउवानिकट एक नेताले बताए । अर्कोतिर प्रधानमन्त्री देउवाले पहिले विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा काम गर्दा आफूलाई सहज हुने र पाँच दलीय गठबन्धनमा पनि विवाद उत्पन्न नहुने अनुमान गरेका छन् ।
‘पहिले विश्वासको मत लिन सकियो भने भोलि मन्त्रिपरिषद् विस्तारमा धेरै कचकच नहुने पनि अर्को अनुमान हो,’ ती नेताले भने, ‘त्यसैले प्रधानमन्त्रीज्यूले पहिले विश्वासको मत लिनुहुन्छ र मन्त्रिपरिषद् विस्तार गर्नुहुन्छ ।’ कांग्रेसका ६२ जना, माओवादी केन्द्रका ४९ जना, जसपा (उपेन्द्र यादव समूह)का १२, राष्ट्रिय जनमोर्चाका १ जना र माधवकुमार नेपाल पक्षका २३ जनाले विश्वासको मत दिएको खण्डमा देउवा अब यो प्रतिनिधिसभाको बाँकी अवधिभर प्रधानमन्त्री हुनेछन् । त्यसपछि पनि उनको नेतृत्वमा नै निर्वाचन हुनेछ । त्यसैले पनि देउवा बाँकी अवधिका लागि प्रधानमन्त्रीमा रहिरहन विश्वासको मत छिटो लिने पक्षमा छन् ।
‘एमालेमा माधवकुमार नेपाल समूहले पनि देउवालाई छिटो विश्वासको मत लिन सल्लाह दिएको छ,’ देउवानिकट ती नेताले भने, ‘नेपाल समूहले देउवालाई यसअघि नै विश्वासको मत दिन्छु भन्ने वचन दिइसकेको छ । तर, यसका लागि लामो समय लम्ब्याउँदा एमालेमा पछिल्लो समय देखिएको खटपट समाधान गर्न समस्या हुने उनीहरुको बुझाइ छ ।’ उनका अनुसार माधवकुमार नेपाल पक्षधरले छिटो देउवालाई विश्वासको मत दिएर पार्टीमा एकीकरण हुने सम्भावना भएमा त्यसमा वार्ताहरु अगाडि बढाउन चाहन्छन् ।
‘उहाँहरु यता दिएको वचन पहिले पूरा गरौँ, बरु सरकारमा नगए पनि हुन्छ,’ ती नेताले दाबी गरे, ‘त्यसपछि हामीले पार्टीमा एकीकरण गर्ने वा विभाजन गर्ने भन्ने विषयमा अन्तिम निचोडका साथ कामहरु अगाडि बढाउन सक्छौँ भन्नेमा हुनुहुन्छ ।’ नेपालनिकट एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिन हामी बाध्यात्मक अवस्थामा छौँ, यसअघि उहाँका लागि हस्ताक्षर गर्ने र अहिले विश्वासको मत दिन्नौँ भन्न हामीले मिल्दैन । उहाँले संसद अधिवेशन सुरु भएको केही दिनमा नै विश्वासको मत लिनुहुन्छ र त्यसमा हामी उहाँको समर्थनमा देखिन्छौँ । त्यसपछि हामीले हाम्रो पार्टीको विवाद मिलाउन अगाडि बढ्ने योजनामा काम गर्छौँ ।’
यसअघि एमालेका सांसद विरोध खतिवडाले पनि आफूहरुले रिट निवेदनमा माग गरेको कुरा देउवालाई प्रधानमन्त्री बनाउने मात्र नभएर प्रतिनिधिसभाको वा सरकारको स्थायीत्व भएकाले देउवालाई आफूहरुले विश्वासको मत दिने संकेत गरेका थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सुझाव पनि देउवालाई छिटो विश्वासको मत लिनु पर्ने भन्ने छ । त्यसैले देउवाले प्रतिनिधिसभा सुचारु भएको तीन/चार दिनमा विश्वासको मत लिन प्रयास गर्ने उनीनिकट नेताको दाबी छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar