२०८१ आश्विन १, मंगलबार
४ असार,काठमाण्डौ – देशभर जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ ।
कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी – साधनमा जोर–बिजोर लागु गरिने जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य सीमित क्षेत्र खुलाउने निर्णय गरिएको बताए ।
‘असार ७ गतेसम्मको कोरोना संक्रमणको अवस्था अध्ययन गरिनेछ । त्यसपछि मात्रै कुन–कुन क्षेत्रमा के–के गर्न दिइने भन्नेबारे थप निर्णय गरिनेछ,’ शर्माले भने । गएको वैशाख १३ गते बाँकेबाट सुरु निषेधाज्ञा अहिले ७५ जिल्लामा जारी छ । काठमाडौं उपत्यकामा पछिल्लोपटक असार ७ सम्म निषेधाज्ञा थप गरिएको छ । कार्यकारी निर्देशक शर्माका अनुसार असार ७ पछि पनि निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ ।
‘असारपछि पनि लकडाउनलाई नै निरन्तरता दिई कोरोना संक्रमणदरको अवस्थाबारे विश्लेषण गरिनेछ । त्यसैअनुरुप स्वास्थ्य मापदण्डमा कडाइ गरी चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लगिनेछ,’ उनले भने । शर्माका अनुसार अब अन्य व्यापार, व्यवसाय खुलाउन दिइनेछ । ‘अहिले जारी निषेधाज्ञामा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसलहरु खुलाउन दिइएको छ । तर, असार ७ पछि भने यस्तो हुने छैन ।
स्मार्ट लकडाउन जारी भएपछि विभिन्न किसिमका पसलहरु खोल्न दिइनेछ,’ शर्माले भने, ‘यसका लागि समय तोकिनेछ । खाद्यान्न पसललाई ९ बजेसम्म खोल्न दिने गरी समय तोकिनेछ । कपडा पसल, इलेक्ट्रोनिक पसल १० देखि १२ बजेसम्म खोल्ने समय मिलाइनेछ । त्यस्तै, हार्डवेयर पसल १ देखि ४ बजेसम्म खोल्न दिइने समय तालिका बनाइनेछ । विकास निर्माण क्षेत्र र अत्यावश्यक उद्योग स्वास्थ्य मापदण्ड पालना गरी खोल्न दिइनेछ ।’
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीसीएमसीको बैठक बसेको थियो । उक्त बैठकले निषेधाज्ञालाई ‘स्मार्ट लकडाउन’मा परिणत गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संक्रमण नबढ्ने गरी खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए । स्वास्थ्य मापदण्डमा कडाइ गर्दै चरणबद्ध रुपमा जनजीवन सहज बनाउँदै लैजानुपर्ने ओलीको भनाइ थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar