७ जेठ,काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा कदम चाल्ने तयारी गरेको छ ।
आज (शुक्रबार) सभापति शेरबहादुर देउवा निवासमा बस्ने पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठकपछि राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने निर्णय गर्ने काँग्रेस श्रोतले बताएको छ । त्यस्तै आज (शुक्रबार, बिहान ९ बजे) देउवा निवासमा काँग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठक बस्ने छ ।
यसबारे काँग्रेस सभापति देउवाले पार्टीका नेताहरुसँग विहीबार साँझै टेलिफोन संवाद गरिसकेका छन् । नेताहरुसँगको कुराकानीपछि सभापति देउवा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कडा कदम उठाउनुपर्ने निष्कर्षमा पुगेको बुझिएको छ ।
काँग्रेस नेता रमेश लेखकले राष्ट्रपतिबाट विहीबार जारी नयाँ सरकार गठनसम्बन्धी आह्वानबारे चर्चा गर्दै सरकार संविधान विधि, पद्दति भन्दा बाहिरबाट चलेको बताए । शुभयुगसँग कुरागर्दै लेखकले भने , ‘यो त अति भयो । यो देशमा संविधान विधि, पद्दति केही पनि छैन भन्ने कुराको नमुना हो यो । यो विषयमा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था आएको छ ।’ संविधानको गम्भीर उल्लंघनको घटना एकपछि अर्को हुन थालेकाले काँग्रेसले कडा कदम चाल्नुपर्ने बेला आएको लेखकको भनाइ छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गणतन्त्र र लोकतन्त्रमाथि खतरा पैदा भएको लेखकले बताए । उनले भने, ‘यो देशबाट गणतन्त्र जान्छ भने विद्या भण्डारीका कारणले जान्छ । लोकतन्त्र जान्छ भने केपी ओलीका कारणले जान्छ । यो कुरा जनतामा लैजानका लागि पनि महाअभियोग र अविश्वासको प्रस्ताव ल्याउनुपर्छ ।’
राष्ट्रपतिविरुद्धको महाअभियोग पास हुने अवस्था नबनेपनि त्यो ठाउँसम्म पुग्नुपर्ने अवस्था आएको उनले बताए । नेता लेखकले भने, ‘भोलि यो लडाइँमा महाअभियोग पास होला न होला, अलग कुरा हो । तर, त्यो ठाउँसम्म जाने कुरा हो यो ।’
महाअभियोग पास हुन संसदको दुई तिहाइ चाहिने संवैधानिक व्यवस्था छ । विपक्षी दलसँग महाअभियोग पास गर्ने गणित भने छैन ।
शुक्रबार बिहानको बैठकमा यिनै विषयमा छलफल हुने लेखकले बताए । उनले भने, ‘अविश्वासको प्रस्ताव लिएर जाने हो कि रु अथवा महाअभियोग पनि लिएर जाने हो कि रु वा अर्को सरकार बनाउनका लागि तयारी गर्ने हो कि, यिनै विषयमा छलफल हुन्छ ।’ विहीबार साँझ आफूसँगको भएको कुराकानीमा यसबारे छलफल गर्न देउवा पनि तयार भएको लेखकले बताए ।
यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहमत नै देखिएको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ ९५० अनुसार सरकार गठनको प्रक्रिया शुरु गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको पौडेलको टिप्पणी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar