२०८१ आश्विन ३०, बुधबार
६ जेठ,लमजुङ – लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।
जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ । चारभन्दा माथि बुधबार बिहान ५ : ४२ मा ५.८, ८ :१६ मा ४, ८ : १७ मा ४.१, ८:२६ मा ५. ३, बुधबार राति ९:२३ मा ४ र १०:३९ मा ४.५ रिक्टर स्केललको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार आज बिहान ५:५१ मा ३.२ रिक्टर स्केलको भूकम्प गएको छ । यसरी पटकपटक भूकम्प जाँदा त्रासले जिल्लाबासी त्रसित भइरहेका छन् । बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लाबासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा राम्रोसँग सुत्न त के, घरभित्र बस्न पनि समस्या भयो । कतिपय स्थानीयवासी रातभरि घरबाहिर नै सुते भने कति नसुति भित्र बाहिर गरिरहे । जिल्लामा भूकम्प जाँदा सहजरूपमा बाहिर बस्न सक्ने अस्थिति समेत थिएन ।
रातिको समयमा वर्षा भइरहेकाले थप समस्या भएको स्थानीयवासीको भनाइ छ । यति कुराको मात्र डरले सीमित छैन जिल्लावासी । कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै सरकारले निषेधाज्ञासमेत जारी गरेको छ । सङ्क्रमणको जोखिम र निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्कन र भीडभाड नगर्न बताइएको छ ।
यही बीचमा भूकम्प जाँदा जिल्लाबासी घरबाहिर भीडभाड गरेर बस्न बाध्य भए । कोरोना सङ्क्रमण परीक्षण नगरेकाहरुलाई सङ्क्रमणको जोखिम भए सबैलाई सर्ने उच्च सम्भावनाले पनि मन आत्तिएको बेँसीशहर नगरपालिका–८ की सिर्जना श्रेष्ठको भनाइ छ । उनले भनिन, ‘कोरोनाको यस्तो जोखिम मोलेर पनि भूकम्प आउँदा बाहिर निस्किएर अन्य स्थानीयवासी भएकै ठाउँमा गएर बस्ने र भूकम्प धक्का कम भएपछि घरभित्र गर्ने गरेर राति बिताइयो ।’ सिर्जना जस्तै समस्या अधिकांश जिल्लाबासीको पनि उस्तै हो । जिल्लामा छ जना घाइते भए भने २०० घरमा क्षति पुग्यो । भूकम्प पटकपटक जानाले अझै घर तथा मानवीय क्षति हुन्छ कि भन्ने डरमा यहाँका स्थानीयवासी रहेका छन् ।
यता भूकम्प मापन तथा अनुसन्धान केन्द्रले समेत भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ यकिन भन्न सक्ने अवस्था नभएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सबैजना सुरक्षित, सतर्क र सजग भएर बस्नुपर्ने बताए । उनले यो विपद्को घडीमा सबैलाई एकजुट भएर अघि बढ्न र नआत्तिनलाई आग्रह गरेका छन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar