२२ बैशाख,काठमाण्डौ – माओवादी केन्द्रले समर्थन नरहेको विधिवत जानकारी गराएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली समर्थन जुटाउन लागि परेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले माओवादीलाई समर्थन फिर्ता गरेर देखाउन चुनौती दिएका थिए । तर, माओवादी केन्द्रले ओलीले भन्दैमा समर्थन फिर्ता नलिने जनाएको थियो । ओलीले विश्वासको मत लिने तयारी गरेकै बेला माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको औपचारिक रुपमै जनाएको हो । माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा दर्ता गरेलगत्तै प्रधानमन्त्री बुधबार काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न दलबलसहित बुढानिलकण्ठ पुगेका हुन् ।
नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ, विष्णु पौडेल र विष्णु रिमालसहित देउवा भेट्न बुढानिलकण्ठ पुगेका ओलीले बुढानिलकण्ठमा ठाडो जवाफ पाए – त्यो हो, ‘कांग्रेसले समर्थन दिँदैन, विपक्षमा मतदान गर्छ ।’
ओली बुढानिलकण्ठ पुग्नुमा मुख्यतः २ कारण रहेको जानकारहरु बताउँछन् । उनीहरुका अनुसार पहिलो कारण ओलीले आफुलाई समर्थन गर्न काँग्रेसलाई आग्रह गर्ने र यदि त्यसमा काँग्रेस सहमत नभए प्रचण्ड माधवलाई जसरी पनि असफल पार्न उनीहरुसँगको गठबन्धन तोडेर बरु आफै देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने । तर, सहमहामन्त्री डा.प्रकाशशरण महतले ओलीले काँग्रेसलाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको प्रतिकृया दिए । ओलीका यी दुवै प्रस्ताव देउवाले अस्विकार गरेकाले उनले तत्कालै संसद विघटनको निर्णय गर्नसक्ने तर्कसमेत गर्न थालिएको छ ।
‘लोकतन्त्रका लागि काँग्रेस र एमालेसँगै लडेका हौँ, अहिले पनि म लोकतन्त्रप्रति प्रतिबद्ध छु’ प्रधानमन्त्री ओलीले काँग्रेसको विश्वास जित्ने प्रयास गर्दै भनेका थिए । तर काँग्रेसले बोलीमा यसो भनेपनि व्यवहारमा लोकतान्त्रिक गतिविधिको धज्जी उडाएको भन्दै लुम्बिनी र गण्डकीको उदाहरण दिएका थिए । काँग्रेस नेताले गण्डकी र लुम्बिनीको उदाहरण दिँदा ओली मौन बसेका थिए ।
त्यस्तै ओलीले विश्वासको मत दिन गरेको आग्रहलाई पनि काँग्रेसले ठाडै अस्वीकार गरेको थियो । ‘हामीले विपक्षमा मतदान गर्छौ भनेर प्रस्ट भन्यौ साथै सत्ता साझेदारी र सहकार्यको कुरा पनि तपाईंसँग अहिले सम्भव छैन भनेर प्रस्ट भन्यौ’ नेता महतले एमाले नेताहरूसँगको भेटवार्तापछि सञ्चारकर्मीलाई जानकारी दिए । गत फागुन २३ यता माओवादी र ओलीबीच समर्थन फिर्ता गर्ने नगर्ने बारे माथापच्छी चलिरहेका बेला प्रधानमन्त्री ओलीले तीन दिन अघि मात्रै प्रतिनिधिसभाको विशेष बैठक बोलाएर आगामी बैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीको यो घोषणालाई काँग्रेस, माओवादी लगायतका दलले अराजनीतिक र असंवैधानिक कदमका रुपमा लिएका छन् ।
देउवासँगको भेटवार्तामा सहभागी भएका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई दलका नेताबीचको भेटवार्ता सौहार्दपूर्ण भएको भन्दै लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्ने विषयमा कुराकानी भएको बताए । ‘मुख्यत लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यका कुरा भयो, संविधानको रक्षा र प्राप्त उपलब्धिलाई सबैले मिलेर जोगाउने कुराहरु भए’ नेम्वाङले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar