१७ बैशाख,काठमाण्डौ – विद्युत् नियमन आयोगले सेयर बजारलाई नियमन गर्ने निर्देशिका जारी गर्न लागेको छ ।
आयोगले विद्युत्सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ संशोधनका लागि मस्यौदा तयार पारी सम्बन्धित निकायबाट सुझाव माग गरेको हो ।
जलविद्युत् कम्पनीको नियमनका साथै उपभोक्ता तथा लगानीकर्ताको हित संरक्षण गर्न निर्देशिका जारी गर्न लागेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताएका छन् । कमजोर अवस्थामा रहेका धेरै कम्पनी सर्वाजनिक निष्कासनमा जाने तर पछि आएर लगानीकर्तालाई प्रतिफलसमेत दिन नसक्ने अवस्थामा रहेका छन् । अध्यक्ष सिंहले भने, ‘यस्तो अवस्था नआओस् भनेर अब निर्देशिकामा इक्रारेटिङ अनिवार्य गरेका छौं ।’ इक्रारेटिङ डीसम्म आउने कम्पनीलाई सार्वजनिक निष्कासनमा जान नदिने विषयमा छलफल भइरहेको सिंहले बताए ।
आयोगले जारी गरेको मस्यौदामा बैंकको ऋण तिर्ने उद्देश्यले हकप्रद निष्कासन गर्ने भए आयोगको पूर्वस्वीकृति लिई विभिन्न सर्त पूरा गरेर सेयर निष्कासन गर्न सकिने मस्यौदामा उल्लेख छ । जसमा सेयर निष्कासनबाट प्राप्त पुँजी कुन ऋण तिर्ने प्रयोजनका लागि प्रयोग गरिने हो सोको विवरण आयोगमा पेस गर्नुपर्ने, आधारभूत सेयरधनीले प्रस्तावित निष्कासनबमोजिमको रकम अग्रिम रूपमा चुक्ता गरिसकेको हुनुपर्ने उल्लेख छ ।
निर्देशिकाको परिच्छेद दुईको सेयर सार्वजनिक निष्कासनको पूर्वस्वीकृति लिनुपर्नेमा, निर्माणको चरणमा रहेका आयोजनाको मुख्य संरचनाको निर्माण कम्तीमा ५० प्रतिशत सम्पन्न गरेका र आयोजनाको उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न आवश्यक पूर्वाधारको प्रत्याभूति रहेका आयोजनाले सेयर सार्वजनिक गर्न पाउने उल्लेख छ ।
त्यस्तै, मस्यौदामा हाइड्रो कम्पनीले दोस्रो कम्पनीको सेयर खरिद गर्न वा अन्य कम्पनी वा संस्था गाभ्ने उद्देश्यले सेयरको थप सार्वजनिक निष्कासन तथा हकप्रद सेयर निष्कासन गर्न र बैंक वा वित्तीय संस्थाको ऋण तिर्ने उद्देश्यले सेयरको थप सार्वजनिक निष्कासन गर्न नपाइने उल्लेख छ ।
त्यस्तै, यसरी प्राप्त भएको पुँजी छुट्टै बैंक खाता खोली सोही खातामा जम्मा गर्नुपर्ने, बैंक खाता खोलेको प्रमाण आयोगमा पेस गर्नुपर्ने र सो बैंकको खाताको रकम ऋण तिर्ने प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउने मस्यौदामा उल्लेख छ । साथै, ऋण चुक्ता भएको प्रमाण सेयर निष्कासन भएको ३० दिनभित्र आयोगमा पेस गर्नुपर्ने उल्लेख छ ।
आयोगले जारी गरेको मस्यौदामा कम्पनीले विगतका आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, चालू आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण तथा प्रस्तावित सेयर निष्कासनलगायतका विवरण समावेश गरी तयार पारिएको आगामी तीन आर्थिक वर्षको वित्तीय विवरणको प्रक्षेपण गरी रजिस्टर्ड सीएबाट प्रमाणित गराई सो प्रक्षेपणका मान्यतासहित आयोगमा पेस गर्नुपर्ने प्रावधान राखिएको छ ।
त्यस्तै, चुक्ता गर्ने भनिएको ऋण चुक्ता नभएसम्म कम्पनीको आधारभूत सेयर नेप्सेमा खरिदबिक्री गर्न नपाइने व्यवस्था आयोगले मस्यौदामा राखेको छ । साथै, हकप्रद निष्कासन गर्न कम्पनीको नेटवर्थ ऋणात्मक नभएको हुनुपर्ने मस्यौदामा उल्लेख छ । त्यस्तै, आयोगले सम्पूर्ण सेयर निष्कासनमा आयोगको पूर्वस्वीकृति चाहिने उल्लेख गरेको छ । यसअघि स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोमा अब पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो । मस्यौदामा सल्लाह सुझावका लागि ३० दिनको समय दिएकाले त्यसपछि मात्र प्राप्त सुझावको आधारमा निर्देशिकालाई अन्तिम रूप दिएर संशोधन गरिने आयोगले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar