२ चैत,काठमाण्डौ – चिनियाँ खोप लगाउन भारतीय व्यापारी जहाज चढेर नेपाल आउन थालेका छन् ।
भारतमा चिनियाँ खोप उपलब्ध छैन, चीनले आफ्नो खोप नलगाएका विदेशीलाई भिसा दिएको छैन त्यसैले चीनबाट सामान आयात गर्ने भारतीय व्यापारी खोप लगाउन नेपाल आउन थालेका हुन् ।
२० भारतीय व्यापारीले मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग केन्द्रमा चिनियाँ ‘भेरोसेल’ खोप लगाएका छन् । ‘चीनमा व्यापार गरेको कार्डका आधारमा हामीले उनीहरूलाई खोप लगाइदियौँ । पछि उनीहरू भारतबाट खोप लगाउन मात्रै नेपाल आएको पुष्टि भयो,’ टेकु अस्पतालका एक चिकित्सकले भने, ‘यसरी टेकु अस्पतालमा मात्रै होइन, काठमाडौंका अन्य र काठमाडौंबाहिरका खोप केन्द्रमा पनि ठूलो संख्यामा भारतीय व्यापारीले खोप लगाएका हुन सक्छन् ।’
टेकु अस्पतालका स्वास्थ्यकर्मी शंकर पाण्डेका अनुसार बुधबार पनि टेकुु अस्पतालमा ३० जना भारतीय व्यापारी खोप लगाउन आएका थिए । चिकित्सकहरूले नागरिकताविना लगाउन नसक्ने बताएपछि उनीहरूले ‘हिजोचाहिँ किन लगाएको त’ भनेर विवादसमेत गरेका थिए । विवादपछि अस्पताल प्रशासनले बुधबार खोप सेवा बन्द गरेको थियो ।
टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले भारतीयहरूको दबाब बढेपछि बुधबार खोपसेवा नै बन्द गरिएको बताए । ‘चिनियाँ अनुदानमा प्राप्त भेरोसेल खोप नेपाल–चीनबीच व्यापार गर्ने नेपाली नागरिक, चीनमा अध्ययन गर्ने विद्यार्थी र चीनको सिमानामा बसोवास गर्ने नेपालीले मात्रै पाउने हो, गैर नेपालीले खोप पाउनुहुन्न भनेका छौँ ।’
चीन सरकारले आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । गत २५ चैतदेखि यो खोप लगाउन थालिएको हो । सरकारले हिमालपार व्यापार गर्ने, चीनमा अध्ययन गर्ने विद्यार्थी र चीनको सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीलाई प्राथमिकतामा राखेर चिनियाँ खोप लगाइरहेको छ । त्यस्तै, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, औषधि, फलफूल र तरकारी व्यापारी, प्राध्यापक, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्तिलाई पनि सरकारले भेरोसेल खोप दिइरहेको छ । बुधबारसम्म ५३ हजार नौ सय ४१ जनालाई खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले यसअघि नेपालमा बसेका भारतीय नागरिकलाई पनि कोभिसिल्ड खोप लगाएको थियो । तर, अहिले चिनियाँ खोप भने दिएको छैन । ‘त्यसैले भारतीय व्यापारीहरू जहाजमा आउने र खोप लगाएर फर्किने गरेको पाइयो,’ टेकु अस्पतालका एक चिकित्सकले भने ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar