२०८१ आश्विन २७, आईतबार
२५ फागुन,काठमाण्डौं – सर्वोच्च अदालतको आदेशसँगै तत्कालिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अधिकाशं नेताहरु पुरानै पार्टीमा फर्किएका छन् ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नेताहरु पनि पूर्व पार्टीमै फर्किएका हुन् । साविक नेकपा अध्यक्ष पुष्कमल दाहाल र माधवकुमार नेपालसमूहले सर्वोच्च अदालतको फैसला अनुसार पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेपछि यो अवस्था आएको हो । सोमबार कोटेश्वर पेरिसडाँडामा बसेको सो समुहको स्थायी कमिटीको अनौपचारिक बैठकले पूर्वएमाले नेताहरु एमालेमै रहने र दाहालसहितका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्रमै रहने र एकता प्रयास गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए ।
आइतबार सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो । रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला प्रति गम्भीर असहमति रहँदारहँदै पनि फैसला कार्यान्वयको प्रक्रियामा जाने पनि श्रेष्ठले बताए । ‘सर्वोच्च अदालतले नेकपाका सन्दर्भमा गरेको फैसलाबारे गम्भीर छलफल ग¥यो । रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर गरेको राजनीतिक फैसलाका रुपमा लिएको छौं । रिट निवेदको माग दाबीभन्दा बाहिर गएर एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला प्रति हाम्रो गम्भीर असहमति राखेका छौं,’ बैठकपछि उनले भने, ‘असहमति हुँदाहुँदै पनि आफ्नै ढंगले कार्यान्वयको प्रक्रियमा जाने स्पष्ट छ । कानुनी ढंगले पनि उपचार खोज्ने प्रक्रिया अगाडि बढाउँछौं ।’
समुहको अन्तिम ठानिएको बैठकले दुवै पक्ष मिलेर ओलीविरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेका छन् । एमाले पृष्ठभूमिका नेताहरु एमालेमै फर्केर र माओवादी पृष्ठभूमिका नेताहरुले माओवादीमै रहेर ओलीविरुद्ध संघर्ष गर्ने भन्दै एकअर्कासँग विदाई भएका छन् । उनिहरुले दुई पार्टी अलग अलग भएपनि एकताका लागि अझै पहल जारी राख्ने प्रतिक्रिया दिएका छन् । नेकपामा रहँदा सो समुहका अध्यक्ष बनेका माधव नेपालले विगतको इतिहासलाई बिर्सेर अगाडी बढ्नुपर्ने बताए । उनले विगतको इतिहास हेर्नुभन्दा देश र जनताको भविष्य हेर्नुपर्ने बताए । ‘हामीले तितो पिरो मनमा राखेर, पुरानो इतिहासका कुरालाई कोट्टाएर जान हुदैन भन्ने कुरा सोचेका छौं’, बैठकपछि बाहिरिने क्रममा संचारकर्मीलाई उनले भने । सर्वोच्च अदालतको फैसलाले एमाले एमालेतिर, माओवादी माओवादीतिर भनेको बताउदै त्यसका पनि विभिन्न पक्षका बारेमा अझै अध्ययन गरिरहेको पनि सुनाए । ‘निर्वाचन आयोगले कुन अनुरुपको पत्र पठाउछ त्यसपछि हेरेर सजिलै पछाडि फर्कने अवस्था आउँछ कि आउँदैन त्यो हेरेर आवश्यक निर्णय लिन्छौं’, उनको भनाई थियो ।
नेता झलनाथ खनालले कानुन अनुसार पार्टी एक भएकोमा कानुनले अलग गराएका कारण अव एकै ठाउँमा रहने भन्दा पनि आआफ्नो घर फर्कन राम्रो हुने भएकाले आफूहरुले त्यसै निर्णय गरिएको बताए । यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए । छलफलमा नेपाल पक्षका नेपालसहित, अष्टलक्ष्मी शाक्य, पन्त, युवराज ज्ञवाली, भीम आचार्य, बेदुराम भुसाल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत सामेल थिए ।
सो भेलाले एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेकाले एमालेमै फर्किनुपर्ने निचोड निकालेको थियो । ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् । नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा नेपाल समूह अल्पमतमा रहेपनि करिव करिव बराबरीको हैसियतमा छ ।
एमालेका नेताहरु पार्टीमा फर्किएपनि माओवादी केन्द्र पृष्ठभूमि भएका नेताहरु भने एमालेमै रहने भएका छन् । माओवादी पृष्ठभूमिका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरी, दावा तामाङलगायतका मन्त्री र नेताहरूले ओलीको साथ नछाड्ने भएका हुन् । उनीहरुले पदका लागि ओलीलाई साथ नदिएको भन्दै देश बनाउने सहि विचार, सिद्धान्त र कम्युनिष्ट आन्दोलन लागि साथमा उभिएको बताएका छन् ।
सर्वोच्च अदालतको फैसला आएपछि प्रधानमन्त्री ओलीले एमालेका केही नेतासहित उनीहरुसँग सामुहिक छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री ओलीसँग ती नेताहरुले अब आफुहरु एमालेमै रहने घोषणा गरेका थिए । एमालेमै रहने भएपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीभित्र नयाँ जिम्मेवारी दिने बताएको एक नेताले जानकारी दिए । नेकपा माओवादी केन्द्रबाट साबिक नेकपामा केन्द्रीय सदस्य रहेका एक दर्जनभन्दा बढी नेताहरू केपी ओली पक्षमा छन् । उनिहरुले माओवादी केन्द्रले कारवाही गरेपनि आफुहरुलाई कुनै फरक नपार्ने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar