६ माघ,काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिने स्पष्टीकरण सोधेको छ ।
सोमबार नै बालुवाटार पुगिसकेको पत्रमा स्पष्टीकरणबारे लेखिएको छ-‘तपाईँलाई पार्टीको सदस्यबाट किन निष्कासन नगर्ने ?’ तर, पार्टी विधानको धारा ५६ (ख) को उपधारा १० बमोजिम सोधिएको भनी दाबी गरिएको उक्त स्पष्टीकरणबारे ओलीको प्रतिक्रिया कस्तो रहन्छ ? भन्ने विषय अहिले सबैको चासो बनेको छ ।
त्यसो त ओलीले तीन दिनभित्र स्पष्टीकरण देलान् ? भन्ने चासाे सबैतिर छ । ओलीका विश्वासपात्र तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङ्गको भनाइ छ, ‘ओली नै प्रथम अध्यक्ष हुनुहुन्छ । के को स्पष्टीकरण ?’ तर, नेम्वाङ्गको भनाइलाई नेता लीलामणि पोखरेल मान्न तयार छैनन् । ‘कहीँ कतै पहिलो र दोस्रो अध्यक्ष भनेर तोकिएको छैन’, नेता पोखरेलले भने, ‘लेख्दा मात्रै त्यसरी लेखिएको हो । त्यसैले दुई अध्यक्षको हैसियत बराबरी हो ।’
‘तीन दिनभित्र ओलीबाट कुनै खालको क्रिया प्रतिक्रिया आएन भने के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा पोखरेलले भने ‘कुनै क्रिया प्रतिक्रिया नआएको खण्डमा हामीले विधानतः कारबाही गर्छौँ । जुन विषयमा स्पष्टिकरणको समयावधि सकिएपछि बस्ने बैठकले निर्णय गर्नेछ ।’
यसअघि पनि दाहाल–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि पुनः पार्टीको सिद्धान्त, विचार, नीति, विधि हितविपरीत र पार्टी विरोधी गतिविधि गरेको भन्दै पुनः स्पष्टीकरण सोधिएको नेता सुरेन्द्र पाण्डेले बताए । ‘हाम्रो पार्टीको स्थायी समितिको बैठकले यो निर्णय गर्यो कि केपी ओलीलाई सदस्यबाट किन नहटाउने भन्ने स्पष्टीकरण सोध्ने’, नेता पाण्डेले भने – ‘उहाँले पार्टी हितविपरीत कार्यहरु गरेकोले यस्तो गर्नुपरेको हो ।’
गत ५ पुषमा प्रतिनिधि सभा विघटनसँगै ‘दुई चिरा’ परेको नेकपाका दुवै चिराले अहिले आफूलाई आधिकारिक नेकपा भएको जिकिर गरिरहेका छन् । जुन विवादलाई टुङ्गोमा पुर्याउन निर्वाचन आयोगले गृहकार्य गर्दैछ भने यता प्रतिनिधि पुनर्स्थापना हुने कि नहुने भन्ने विषयबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
यी दुवै विषयबारे सम्बन्धित निकायले निर्णय गर्ला नै । तर, यी नै विषयलाई लिएर नेताहरुबीचको आरोप–प्रत्यारोपको शृङ्खला भने झनै चुलिँदो छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar