८ मंसिर, दैलेख – मध्यपहाडी आयोजना अन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी नै काठ तस्करीमा प्रयोग हुने गरेको पाइएको छ ।
दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका-१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वाग्मती प्रदेश ०१-००६-१०३८ नं को गाडीमा सल्लाको दार लोड गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेसंगै आयोजनाको गाडी नै काठ तस्करीमा प्रयोग हुनेगरेको पाइएको हो ।
मध्यपहाडी सडक निर्माण स्थलमा दिउँसै दाउराका लागि भनी अत्याधुनिक यन्त्रमार्फत काटिएको सल्लाको १५ गोलियाभन्दा बढी काठ गाडीमा लोड गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
लोड गरिएका करीब १२ मध्ये मुख्य व्यक्तिका रूपमा रहेका प्रकाश पाल थापालाई यन्त्रसहित प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, प्रहरी प्रमुख अनुपम श्रेष्ठ र जिल्ला वन कार्यालय दैलेखको संयुक्त टोलीले क्रसर उद्योग अनुगमन गरेर मध्यपहाडी राजमार्ग हुँदै आउँदै गर्दा सडक खण्डमै काठ तस्करी भएको भेटाएपछि उनीलाई नियन्त्रणमा लिएको हो ।
उपभोक्ता समितिको पुर्जी नदेखाएपछि थापालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान समेत थालेको छ ।
प्रहरीको टोली देख्ने बित्तिकै टिपर चालक भने फरार भएका छन् ।
काठ तस्करीमा संलग्न सबैलाई आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाउने तयारी भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।
दैलेखको पश्चिम क्षेत्रमा नियमित गस्ती बढाउने तयारी भएको छ ।
तस्करी भएको थाहा पाउनेबित्तिकै प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयले नागरिकसँग समेत आग्रह गरेको छ।