शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २७, बिहिबार (४ साल अघि)
७१० पाठक संख्या
२७ कार्तिक,काठमाडौं – ‘उही खोलीमा पानी उही खोलीमा माछा’ बोलको गीत ल्याएर नेपाली लोकदोहोरी क्षेत्रमा ठूलो सफलता प्राप्त गरेर चर्चा कमाएका गायक राजन गुरुङले अहिले पछिल्लो समय फेरि ‘मायालु तिमी मुटुमा छौ’ बोलको गीत ल्याएर सफलताको शिखरमा चढ्दै गएका छन् ।
उनको आफ्नै युट्यूब च्यानलमार्फत सार्वजनिक यता उक्त गीतलाई यस समाचार तयार पार्दासम्म ३ लाख ४५ हजारभन्दा बढीले हेरिसकेका छन् । प्रल्हाद सुवेदीको शब्द रचना तथा बसन्त थापाले संगीत भरेको गीतमा गायक गुरुङलाई चर्ची गायिका विष्णु माझीले आवाजमा साथ दिएकी छन् । यस गीत गाउनकै लागि गायिका माझीलाई २ लाख रुपैयाँ पारिश्रम दिएको गायक राजनले जानकारी दिए ।
राग स्टुडीयोमा रेकर्ड गरिएको उक्त गीतमा आशीष अवीरलले संगीत संयोजन गरेका छन् । त्यस्तै, गीतको भिडियोमा गायक राजन गुरुङ, संगीतकार बसन्त थापा, रजनी गुरुङ र सुमित्रा तामाङले नृत्यका साथ अभिनय गरेका छन् । सुनिल क्षेत्रीको निर्देशन रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले खिचेका छन् भने नविन घर्ती मगरको सम्पादन रहेको छ ।
गाउँ समाजमा चल्दै आएको मायाप्रेमका विभिन्न विषयलाई गीतको शब्दमार्फत उठान गरेर बजारमा ल्याएको गायक गुरुङले बताए । त्यस्तै, गीतको शब्द र भिडियो दुवैले नेपाली लोकभाकाको मौलिक परिवेशलाई उच्च कदरसमेत गरेको उनले जिकिर गरे ।
‘पछिल्लो समय नेपाली लोकदोहोरी क्षेत्रमा मौलिकता हराउँदै गएको भन्ने जनगुनासो बढेको छ, आम दर्शक स्रोताको मागअनुसार हाम्रो टिमले यस गीत ल्याएका छौँ, पक्कै पनि यो गीत ‘उही खोलीमा पानी उही खोलीमा माछा’ जस्तै दर्शक स्रोताहरुको रोजाइमा पर्नेछ’, गायक गुरुङले भने ।
यो समाचार तयार पार्दासम्म राजन गुरुङकै युटुयूब च्यानलमार्फत सार्वजनिक उक्त ‘उही खोलीमा पानी उही खोलीमा माछा’ बोलको गीतलाई हालसम्म १ करोड ६५ लाख ७७ हजार ७३३ जना दर्शक स्रोताले हेरिसकेका छन् ।
यस गीतमा गायक गुरुङ र गायिका देवी घर्ती मगरको आवाज रहेको छ भने केशव पौडेलको शब्द, बसन्त थापाको संगीत र आशीष अवीरलको संगीत संयोजन रहेको छ । गायक गुरुङ नवलपरासी बर्दघाट सुस्ता पूर्व० नवलपुर देवचुली नगरपालिकाका स्थानीयवासी हुन् ।