गगन थापाको व्यंग्य : ‘गोकुलधाममा खड्ग उचाल्नु र विष्णु-विष्णु भन्नु’
प्रकाशित मिति: २०७६ फागुन ६, मंगलबार (४ साल अघि)
७०१ पाठक संख्या
६ फागुन, काठमाडौ – कांग्रेस सांसद गगन थापाले ललिता निवास जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलले दिएको प्रष्टिकरण र अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले दायर गरेकाे मुद्दाप्रति संसदमा व्यंग्य गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले स्वस्थानी व्रतकथासँग जोडेर पौडेलप्रति व्यंग्य गरेका हुन् ।
उनले संसदमा भने, ‘‘कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु । थाहा पाइहाले होइन, होइन भन्नु । चित्त बुझाउन नसकेर अप्ठ्यरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र दुई पटक विष्णु, विष्णु भन्नु ।
त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु, विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो र हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि, देख्नुपर्नेले देख्ने छैनन् ।
इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे, श्री स्वस्थानी व्रतकथाय बालुवाटार प्रकरण वर्णनम् प्रथमोध्याय भन्दै थापाले ब्यंग्य गरे ।।